भर्खरै
Home / बिज्ञान-प्रबिधि / एप्पलले नयाँ फोनमार्फत बजार हिस्सा बढाउने

एप्पलले नयाँ फोनमार्फत बजार हिस्सा बढाउने

काठमाडौं, २६ भदौ । एप्पल इन्कले सार्वजनिक गरेको “आईफोन फाईभ एस” र “आईफोन फाईभ सी” मोडलको मोबाइलले अन्य मोबाईल निर्मातालाई चुनौती दिने अनुमान गरिएको छ । एप्पलले सस्तो बजारमा लक्षित गरि निमार्ण गरेको आईफोन फाईभ सीले विश्वमा एप्पलको लागि थप बजार सिर्जना गर्ने कम्पनिले अपेक्षा गरेको छ । कम्पनिले यहि मंगलवार अमेरिका, क्यानाडा, अष्ट्रेलिया र चीनको लागि नयाँ फोन सार्वजनिक गरेको हो ।

एप्पलले पहिलो पटक विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनलाई पनि नयाँ बजारको रुपमा राखेर मोबाईल सार्वजनिक गरेको हो । तर एप्पलको सस्तो फोनको प्रतिक्षा गरिरहेका उपभोक्ताहरु आईफोन फाईभ सीको बजार मुल्यबाट निराश भएका छन् । कम्पनिले सस्तो स्मार्टफोनको सेगमेन्टमा राखेको फाईभ सीको बजार मुल्य अमेरिकामा ९९ अमेरिकी डलरदेखि विभिन्न सेवा प्रदायकसँगको सहकार्यमा उपलब्ध रहेको छ भने साधारण बजारमा यसको मुल्य ५ सय ४९ अमेरिकी डलर तोकिएको छ ।

तर चीनमा अनलक गरिएको फाईभ सी मोबाईलको मुल्य करिब ७ सय ३० डलर भन्दा माथि हुने अनुमान गरिएको छ । पछिल्लो समयमा ठुलो बजार भनेर हेरिएको चीनमा फाईभ सीको अधिक मुल्यका कारण समस्या पर्ने देखिएको छ । विश्लेषकहरुले भने एप्पलले बजार हिस्सा बढाउन थप आक्रामक रणनीति बनाउनुपर्ने बताएका छन् । पछिल्लो समयमा एप्पलले सामसुङ्ग मोबाईल तथा हुवावे मोबाईलका कारण चीनजस्ता उदाउँदो बजारमा हिस्सा गुमाईरहेको छ । त्यहि सन्दर्भमा फाईभ सीले पुन एप्पलको बजारलाई विस्तार गर्नसक्ने बताईएको छ । त्यसैगरि अर्को उदाउँदो बजार भारतमा पनि एप्पलको नयाँ मोबाईल कहिले उपलब्ध हुन्छ भन्ने जानकारी दिईएको छैन् ।

एप्पलको फाईभ सी निलो, हरियो, पहेँलो सहित पाँच रंगहरुमा बजारमा उपलब्ध हुनेछ । कम्पनिले सार्वजनिक गरेको अर्को मोबाईल आईफोन फाईभ एस आईफोन फाईभभन्दा थप फिचर सहित ल्याएको जनाएको छ । फाईभ एसको बजार मुल्य अमेरिकामा सेवा प्रदायकसँगको साझेदारीमा न्यूनतम १ सय ९९ अमेरिकी डलरदेखि शुरु हुने छ जुन तीन रंगमा बजारमा उपलब्ध हुने छन् । कम्पनिले ग्रे, सिल्भर तथा गोल्ड कलरमा सार्वजनिक गरेको फाईभ एसमा द्रूत गतिको प्रोसेसर, ८ मेगापिक्सेलको अत्याधुनिक क्यामेरा तथा फोन अनलक गर्नको लागि फिंगर प्रीन्ट स्क्यानर टच बटन राखिएको छ ।

फाईभ एसमा एम सेभेन को प्रोसेसरयुक्त चीप राखिएको छ जसले मोसन डाटालाई ब्याट्रिको खपत बिना अनुगमन गर्नसक्ने दाबी गरिएको छ । त्यसैगरि फाईभमा भन्दा १५ गुणा ठूलो सेन्सर राखिएको छ जसका कारण कम उज्यालोमा पनि उत्कृष्ट फोटो खिच्नसक्ने छ भने फाईभ एसमा दुईवटा एलईडी फ्लास राखिएको छ । सार्वजनिक गरिएका नयाँ मोबाइलहरु २० सेप्टेम्बरदेखि मात्र बजारमा उपलब्ध हुनेछन भने दुई मोडलमा एप्पलको वर्ड प्रोसेसिङ्ग सफ्टवेयरहरु जस्तो स्प्रेडशीट, प्रिजेन्टेशन तथा भिडियो एडिटलाई पनि सामेल गरिएको छ जबकी यस अघि यस्तो सेवा लिनको लागि थप शुल्क भुक्तान गर्नुपर्ने हुन्थ्यो ।

तर पछिल्लो समयमा धेरै जसो स्मार्टफोनमा राखिएको नियर फील्ड कम्यूनिकेशनको सुविधा भने दुबै मोडलमा छैन् । नियर फील्ड कम्यूनिकेशन डिभाईसले अन्य स्मार्ट ग्याजेटमा मोबाईलद्धारा सिधा सम्पर्क वा नियन्त्रण गर्नसकिन्छ । एप्पलले फाईभ सी मोडलमा एप्स लन्च गर्न तथा इमेल अट्याचमेन्ट डाउनलोड गर्न निक सहज हुने बताएको छ । त्यसैगरि फोनमा राखिएको फेसटाइम एचडी क्यामेराले फेसटाईम कल गर्न तथा प्रयोगकर्ताको फोटो खिच्न सहयोग गर्दछ । उक्त डिभाईसको सहयोगमा आवाजमा आधारित फेसटाइम कल पनि गर्न सकिनेछ । कम्पनिका अनुसार दुबै मोडलमा थ्रि जी नेटवर्कमा १० घण्टाको टकटाईम दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top