भर्खरै
Home / बिचित्र संसार / बहर–बाच्छीको विधिपूर्वक विवाह सम्पन्न

बहर–बाच्छीको विधिपूर्वक विवाह सम्पन्न

चितवन –

मानिसको विवाह त सबैलाई थाहा भएकै कुरा हो । तर तपाईंले जनावरको पनि मानिसको जस्तै धुमधामसँग विवाह भएको भने कमै सुन्नुभएको होला । त्यसमाथि बहर र बाच्छीको विवाह ।  चितवनको पवित्र तीर्थस्थल देवघाटस्थित बागिश्वरी आध्यात्मिक परिषद्मा यस्तै विवाहमण्डपमा मानिसहरूको भीड मात्रै थिएन गाई तथा बाच्छाबाच्छीको भीडले जन्ती आएझैँ भएको थियो । मानिसको बिहे जस्तै विवाहमण्डप बनाइएको थियो भने धुमधामसँग विधिपूर्वक नै बहर र बाच्छीको विवाह सम्पन्न भएको थियो । चितवन माडीका लक्ष्मीकान्त शर्माले ल्याएको बहर र परिषद्मा रहेको दुई वर्षको बाच्छीबीच यसरी धुमधामसँग बिहे भएको परिषद्का एकजना सदस्य नवराज ढकालले जानकारी दिनुभयो ।

बिहानदेखि सुरु भएको बिहे दिनभर नै भएको उहाँले बताउनुभयो । मानिसको बिहे जसरी हुन्छ बहर र बाच्छीको पनि उही विधिपूर्वक विवाह सम्पन्न भएको ढकालले बताउनुभयो । यस्तो विवाह सांस्कृतिक परम्परा भए पनि पछिल्लो समया हराउँदै गएकाले परम्परा जोगाउन गरिएको परिषद्ले जनाएको छ ।परम्पराको जगेर्नासँगै गाई र गोरुको महिमा बढाउनका लागि यसरी विवाह गरिएको लक्ष्मीकान्तले बताउनुभयो । आफ्नो सङ्कल्प भएकाले बहरदान गरेको उहाँको भनाइ छ । मानिसमा कन्यादान गर्ने र युवती युवकको घर जाने चलन छ । तर यसको ठीक उल्टो गाई गोरुमा भने बहर दान गर्ने र बाच्छीकै घरमा बस्ने चलन हुने पण्डित गुरुप्रसाद सुवेदीले बताउनुभयो ।

सुवेदीले नै विवाह कार्यसम्पन्न गर्नुभएको थियो । सो परिषद्मा हाल १७० भन्दा बढी गाई तथा बाच्छाबाच्छी रहेका छन् । परम्पराअनुसार विवाह गरेकाहरूलाई भने बाँध्न तथा जोत्न र पिट्नसमेत नहुने चलन रहेको छ । विवाहपछि वंश धान्नका लागि उनीहरू स्वतन्त्र भएको मानिन्छ । विवाहपछि पनि लक्ष्मीकान्तले त्यो जोडीलाई एक वर्षसम्म खाने व्यवस्था आफूले मिलाएका छन् । उपस्थितहरूले यसलाई दाइजोका रूपमा समेत लिएका थिए । आजै भोज भतेरका रूपमा सबै गाईलाई प्रसादसमेत दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top