भर्खरै
Home / बिचार / म फेरि आएँ !

म फेरि आएँ !

बाबुराम भट्टराई

भनिन्छ–भैसीलाई सिङको भारी हुँदैन । तर राजनीति र सत्ताको उच्च तहमा पुगेका मान्छेहरुलाई आफ्नै पदको भारी हुँदोरहेछ । आफूले बोल्न र लेख्न मन लागेको कुरा सार्वजनिक रुपमा बोल्न र लेख्न नपाइने ! बोल्न र लेख्न पाइन्न भन्ने कुनै नियम कानुन त छैन, तर नियम–कानुन भन्दा परम्परा र लोकलाजको नैतिक बन्धन झन् कठोर हुँदोरहेछ । उही बोली वा लेखले सामान्य अवस्थामा कुनै चर्चा र महत्व ग्रहण नगर्ने, तर त्यही मान्छे कथित उच्च तहमा पुग्यो । भने उसका बोली र लेख सुक्ष्मदर्शी र दूरदर्शी यन्त्रको परिधिभित्र पर्ने ! तैपनि म निकै जोखिम उठाएर त्यो परम्पराको विरुद्ध उभिने जमर्काे गर्दैछु लामो समयदेखि स्थगित रहेको आफ्नो स्तम्भ ‘बेलाबखतका कुरा’ मार्फत !
मलाई सम्झना भएसम्म मैले औपचारिक अध्ययनको सिलसिलाभन्दा बाहिर लेख्न थालेको १२/१३ वर्षको उमेरदेखि हो । पहिलो पटक मैले वि.सं. २०२३ मा गोरखा लुइटेलको अमरज्योति जनता हाइस्कुलमा ७ कक्षामा पढ्दा अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर) को कार्यक्रममा ‘साक्षरता’ भन्ने कथा लेखेर वाचन गरेको थिएँ । गाउँका टाठा बाठा आफ्नै जेठाबाले एकजना छिमेकी निरक्षर र एकल तामाङ महिलाको जमिन किर्ते गरेर हड्पेको सत्य घटनामा आधारित त्यस कथाले मेरो विद्रोही वालमनोविज्ञानको प्रतिविम्बिन गरेको हुँदो हो ! त्यसपछि स्कुल र कलेजमा निबन्ध लेखियो, तर ती कुनै प्रकाशित गर्ने जमर्काे गरिएन ।
एकैचोटि २०३४ सालमा भारतमा उच्च अध्ययन गर्दा आफ्नै नेतृत्वमा स्थापित ‘अखिल भारत नेपाली विद्यार्थी संघ’ को मुखपत्र ‘जनमानस’ (जसको म आफैं सम्पादक पनि थिएँ ) को पहिलो अंकमा ‘लेख लेख्ने समस्या !’ भन्ने निबन्ध र ‘यताउताका कुरा’ भन्ने स्तम्भ (‘मुक्ति मानव’ को छद्म नाउ“मा !) छापिएको थियो । त्यही ‘यताउताका कुरा’लाई नै ‘बेलाबखतका कुरा’मा रुपान्तरण गरेर नेपाल फर्केपछि विभिन्न साप्ताहिकमा निरन्तरता दिएको हुँ । २०४७ सालमा ‘जनादेश साप्ताहिक’ को प्रकाशन शुरु भएपछि त्यसमा यो स्तम्भ प्रायः अविछिन्न रुपले प्रकाशित भैरह्यो । २०५२ सालमा सशस्त्र जनयुद्धको थालनीसँगै भूमिगत जीवन शुरु भएपछि पनि मैले पहिलो वर्ष प्रत्येक हप्ता नविराई ५२ हप्ता नै यो स्तम्भ लेखिरहें । त्यसपछि भने नियमितता कायम गर्न गाह्रो भयो, अनियमित रुपमा चाहिँ लेखिरहेंँ ।
त्यतिेबेला अहिले जस्तो इ–मेलको प्रचलन आइसकेको थिएन । भूमिगत रुपमा कहिले फ्याक्समार्फत त कहिले हातहातै पठाउनुपर्दथ्र्यो । २०५८ जेठ १९ गतेको दरवार हतयाकाण्डको लगत्तै मैले लेखेको र ‘कान्तिपुर दैनिक’मा सो छापिएपछि सम्पादक र प्रकाशक समेत पक्राउ परेको चर्चित लेखको आफ्नै रोचक प्रशंग छ । शुक्रवार साँझ भएको त्यो विभत्स काण्डबारे मैले शनिवार विहानै ५ बजेतिर भारतको एउटा रेल्वे स्टेशन नजिक पुग्दा एक जना साथीमार्फत थाहा पाएको थिएँ । त्यो थाहा पाउने वित्तिकै मैले रेल्वेयात्रा रद्द गरी नजिकै रहनु भएका अध्यक्ष क.प्रचण्डलाई जानकारी गराएँ । त्यसदिनभरि विभिन्न श्रोतहरुबाट सो हत्याकाण्डका विभिन्न पक्षहरुबारे सत्यतथ्य बुझ्ने प्रयत्न गरियो र भोलिपल्ट कार्यालयको अनौपचारिक वैठक बसेर त्यसको भत्र्सना गर्दै पार्टीका तर्फबाट वक्तव्य जारी गरियो । त्यसैका आधारमा मैले सोमबार ‘‘नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन’’ भन्ने लेख लेखेर भोलिपल्ट मंगलबार ‘जनादेश’मा प्रकाशित हुने आफ्नो नियमित स्तम्भ ‘बेलाबखतका कुरा’ निम्ति पठाउने प्रयत्न गरेँ । क. हिसिला र म सँगै थियौं । हामी दुवै मिलेर फ्याक्समार्फत पठाउन खोज्दा ज्यान गए पठाउन सकिएन । म हार मानेर डेरातिर फर्के । क.हिसिला चाहिँ यस्तो महत्वपूर्ण घटनाबारेको लेख जसरी पनि पठाउनुपर्छ भनेर विभिन्न फ्याक्स सुविधा भएका पसल चाहारिरहनुभयो । अन्त्यमा उहाँले पठाउनुभएछ । मंगलबारको ‘जनादेश’मा छापियो होला भन्ने हामीले सोच्यौ । बुधबार साँझतिर पो मेरो एउटा लेख छापिएको कारण ‘कान्तिपुर’का सम्पादक र प्रकाशकहरु गिरफ्तार भएको कुरा भारतीय र अन्तर्राष्ट्रिय टि.भी. च्यानलहरुको क्याप्सनमा देख्न पायौं । हामी अक्कमक्क प-यौं । पछि पो थाहा भयो ‘जनादेश’ का साथीहरुले ‘कान्तिपुर’लाई सो लेख दिनुभएछ र त्यस्तो घटना घट्न पुगेछ ।
‘जनादेश’ मा पछिल्लो पटक ‘बेलाबखतका कुरा’ कहिले छापियो मलाई सम्झना छैन । शान्ति प्रक्रियामा आइसकेपछि बेलाबेलामा लेख्न साथीहरुले आग्रह गरिरहनुहुन्थ्यो र लेख्ने रहर पनि लाग्थ्यो, तर किन हो कुन्नी लेख्ने साइत कहिल्यै जुरेन । अर्थमन्त्री र प्रधानमन्त्र िभएपछि त झन् सिङको भारी अरु बोझिलो बन्नु स्वाभाविकै भयो । पार्टी र सरकारको जिम्मेवारीले शब्द जोखी–जोखी लेख्नुपर्ने भएपछि लेखनी पनि उति फुर्ने कुरा भएन । त्यसैले मनमस्तिष्कका कुरा त्यहीं विर्काे लगाएर थन्क्याउनुको विकल्प रहेन ।
अहिले पनि त्यो विर्काे उघार्न त्यति सजिलो छैन । पान्डोराको बाकस बन्ने भय छँदैछ । कहिलेकाहीं नलाग्ने होइन – कुनै जिम्मेवारी बहन गर्नु नपर्ने लेखक, कवि, साहित्यकार, टिप्पणीकार झैं आफूलाई लागेको कुरा ब्याङ्ग्यव्यङ्ती भन्न र लेख्न पाए कति हल्का हुँदो हो ! तर यो संसार रबिन्सन क्रुसोको टापु भइदिए पो ! यहाँ त मान्छेको निजत्व र सामाजिक दायित्वको कठोर सन्तुलन मिलाएर अघि बढ्नुपर्ने हुन्छ । झन् पार्टी र सत्ताको नेतृत्वमा रहेका वा पुगिसकेकाहरुले मैनबत्तीझैं आफू जलेर अरुलाई प्रकाश दिनुपर्ने हुन्छ । तर यो अहिलेको ‘आवश्यकता’ को दुनियाँको कुरा हो । भोलि हामी ‘स्वतन्त्रता’को दुनियाँमा पनि त पुग्नु छ । सधैं ‘आवश्यकता’ भित्रै बाँधिई रहने हो भने ‘स्वतन्त्रता’ को दुनियाँमा कसरी पुगिएला ? तयसैले सायद ‘आवश्यकता’ लाई ‘बुझ्ने’ मात्र होइन ‘बदल्ने’ पनि हो र अनि मात्र ‘स्वतन्त्रता’ को दुनियाँमा पुग्ने हो भनिएको हो कि ? पार्टी र सत्ता मान्छेको मुक्तिको साधक सट्टा त्यसको बाधक बन्न थाल्यो भने त्यसलाई सचेत मान्छेले कहिलेसम्म सहला र ?
जे होस् अहिले हामीले ‘आवश्यकता’कै दुनियाँमा टेकेर ‘स्वतन्त्रता’को दुनियाँतिर फड्को मार्नुछ । यही सीमाभित्र म फेरि ‘बेलाबखतका कुरा’ लिएर आएको छु । सचेत पाठकहरुको ईटा र पुष्पगुच्छाको अपेक्षा गर्दछु ।

२०७०–१२–१७

9 comments

  1. Good News

  2. Pen can bring true revolution. Your coming back is most welcoming Bhattari sir.

  3. Neta jiu haru sadhai samachar hedlionma matrai aaunu huncha berojgar,gharelu hinsha,bato, pul,battiko lodsheding ko antay garna kohi neta haru onlion ma aaunu hunna kina?sab ka sab vasanma matrai pracitical ma vane sabai neta haru fail chan haina ta neta jiu?

  4. ram bahadur khatri

    very very good news for us & keep it up Vattrai comred jyu.

  5. hem prakash chongbang

    avab grasta samay ko babjud kahile tourist lecture ta kahile lekh rachana marfat afno baudikta Nepaliharu majh share gardai janu vayekoma thank u

  6. Manu Maya Bhattarai

    Dr.Bhattarai daju bela bskhat ka kura ma matra aera pugne chaina janatako man jiteka chau vanda vandai pani hami harna pugeko dekhieka chu eslai galat sabit garaun dherai kam garna baki cha jasto lageko cha

  7. hope we will get you as a columnist of any newspaper regularly

  8. bml sharma kandel

    gud job dr. bhattarai
    i’d like to request u to connect with public through such activities nd dont forget to continue it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top