भर्खरै
Home / अन्तर्वार्ता / प्रचण्ड–बाबुरामको गडबडी पार्टी यो हालतमा पुग्यो: आहुति

प्रचण्ड–बाबुरामको गडबडी पार्टी यो हालतमा पुग्यो: आहुति

माओवादी आन्दोलनको पछिल्लो अवस्था के छ ?

नेपालमा ०४५÷०४६ सालको वरपर पुगेपछि एमालेको जो धारा थियो, त्यसले औपचारिक रुपमा कम्युनिस्ट आन्दोलनको आधारभूत चिजसँग सम्बन्ध–विच्छेद ग¥यो । त्यसपछि नेपालमा नेकपा (एकताकेन्द्र) बन्ने जो प्रक्रिया सुरु भयो, त्यसले नै सांगठनकि रुपमा पनि सिर्जनात्मक रुपमा पनि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेर आयो । त्यसको उत्कर्षको रुपमा जनयुद्ध देखाप¥यो । सहायक पक्षका रुपमा जनआन्दोलनहरु भए । शान्ति प्रक्रियामा आएदेखि आजसम्म आइपुग्दा मलाई के लाग्दछ भने नेपालमा अहिले संगठित रुपमा कम्युनिस्ट आन्दोलन छैन । माओवादी आन्दोलनका रूपमा रहेको कम्युनिस्ट आन्दोलन विसर्जित हुन पुगेको छ । यतिखेर माओवादी आन्दोलनका रूपमा रहेको कम्युनिस्ट आन्दोलन व्यक्ति, झुन्डहरु र आम समर्थक पंक्तिमा जीवित रहन पुगेको छ । अब सांगठनिक रुपमा समेत यसको पुनर्निर्माण मुख्य एजेन्डा बन्न पुगिसकेको छ ।

कम्युनिस्ट आन्दोलन के कारणले यसरी विसर्जन हुन पुग्यो त ?

यसको कारण के हो भने माओवादी आन्दोलनको मुख्य नेतृत्व पंक्तिले विगत केही वर्षमा आफ्ना तीन ओटा आधारभूत सत्वमाथि खेलबाड ग¥यो । एउटा हो– वर्ग पक्षधरता । यसले आफ्नो वर्ग पक्षधरताको विचारमाथिको आफ्नो सत्व छाडिदियो । आध्यात्मवाद र भौतिकवादलाई फ्युजन गराउने भन्ने स्तरको विचलन आउन थाल्यो । यसले सर्वहारा वर्गीय पक्षधरता छोड्दै गयो । दोस्रो, यसले सर्वहारा वर्गको आत्मनिर्णयको अधिकार भन्ने जो हुन्छ, त्यसलाई कमजोर पार्दै विजातीय वर्गको संसर्ग र सिफारिसमा समेत काम गर्न थाल्यो । तेस्रो कुरा, जतिसुकै खराब भने पनि जतिसुकै असल भने पनि एउटा सुव्यवस्थित पद्धति भएन भने जति राम्रो विचार भए पनि जति राम्रो पार्टी भए पनि त्यो व्यवस्थित ढंगले लागू हुँदैन । पद्धति–प्रक्रिया पूरै भत्काउने काम ग¥यो यसले । आधारभूत रुपमा यी तीन कुरामा भएको खेलबाडले एकातिर वर्गपक्षधरतासहितको विचारमा ह्रास हुँदै गयो । यो ह्रास हुँदै जानु भनेको विजातीय वर्गको पार्टीमा रुपान्तरण हुने प्रक्रिया तीव्र हुनु हो, त्यही भयो । सर्वहारा वर्गको आत्मनिर्णयको अधिकार छोड्दै गएपछि विजातीय पर्यावरणसँग सम्बन्ध बढाउन तँछाडमछाड हुन थाल्यो । विचार र पद्धति–प्रक्रियामा स्खलनको तीव्रतासँगै कम्युनिस्ट मूल्य–मान्यता, नैतिकता ह्रास हुन थाल्यो । समग्रमा भन्दा सांस्कृतिक रुपमा भयावह विजातीयकरणको प्रक्रिया अगाडि बढ्यो र त्यो बढी नै रहेको छ ।

विघटित कम्युनिस्ट आन्दोलनलाई पुनर्संगठित गर्न अब के गर्नुपर्ला ? के छन् त उपाय ?

संगठित गर्ने उपाय नहुने भन्ने त हुँदैन किनकि आवश्यकता भएपछि उपाय निस्कन्छ नै । नेपाली समाज र विश्व समाजमा रहेको श्रमजीवी वर्गको मुक्तिको समस्या समाधान पुँजीवादबाट सम्भव छैन । जतिसुकै सुधारिएको पुँजीवादले पनि सम्भव छैन । पुँजीवाद आफैं पनि तीव्र संकटमा फस्दै गएको छ । त्यसैले स्वाभाविक रुपमा समाजवादी क्रान्तिका निम्ति कम्युनिस्ट आन्दोलन अनिवार्य छ । त्यसका निम्ति एक, नेपाली कम्युनिस्ट आन्दोलनको पैंसठ्ठी वर्षको सिंहावलोकन हुनु जरुरी छ । दुई, पैंसठ्ठी वर्षमा माक्र्सवादी भनेर अमाक्र्सवादी अवधारणाहरु कम्युनिस्ट आन्दोलनमा के–के लागू हुन पुगे भनेर संश्लेषण आवश्यक छ । तीन, कम्युनिस्ट आन्दोलनले नेपाली समाजको सर्वांगिण विशिष्टतालाई रणनीति र कार्यनीति निर्धारणको आधारभूत आधार बनाउनेबारेमा भएको त्रुटिका विषयमा गम्भीर छलफल आवश्यक छ । चार, नेपाली कम्युनिस्ट आन्दोलनको कार्यशैलीको मुख्य पक्ष षड्यन्त्रमा आधारित हुँदै आयो, त्यसबारे नयाँ छलफल जरुरी छ । पाँच, कम्युनिस्ट आन्दोलनमा बहुमत–अल्पमत र भिन्नमतबीचको सम्बन्ध र अन्तर्संघर्ष सञ्चालनको विधिलाई पुनरावलोकन गरी सही निष्कर्ष निकाल्न सक्नुपर्दछ । छ, कम्युनिस्ट आन्दोलनमा रहेको अपारदर्शिताको रोगबाट मुक्त गर्न पारदर्शितासम्बन्धी विधिको विकास गर्नुपर्दछ । सात, कम्युनिस्ट आन्दोलन राजनीतिक सत्ता प्राप्तिको आन्दोलन मात्र नभई यो विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन भएकाले सांस्कृतिक रुपान्तरणको विषयलाई तत्कालीन आवधिक कार्यसूचीमा कसरी नीतिगत रुपमा ढाल्ने भन्ने विषयमा नयाँ निष्कर्षमा पुग्नु जरुरी छ । आठ, मालेमावादका आधारभूत प्रस्तावनाहरुको दृढतापूर्वक रक्षा गर्दै आजको नयाँ स्तरको साम्राज्यवादी माहौललाई परास्त गर्न मालेमावादमा आवश्यक विकासका निम्ति काम गर्दै जानुपर्दछ । नौ, आजको एक्काईसौं शताब्दीको विश्वबाट समाजवादी क्रान्ति र वैज्ञानिक समाजवाद प्राप्तिको स्पष्ट रणनीति र व्यापक खाका तयार पार्न लागिपर्नु पर्दछ । र दस, माक्र्सवादी पद्धति, विज्ञानको गुदी कुरा भनेको आलोचनात्मक चेतसहितको क्रान्तिकारी र अन्ततः आम समाज निर्माण गर्ने कुरा हो । तर, सिंगो कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक चेतलाई प्रबद्र्धन गर्नेभन्दा त्यसलाई कुन्ठित गर्ने प्रक्रिया नै मुख्य रुपमा हावी हुँदै आयो । तसर्थ, यस विषयमा नयाँ संश्लेषणतिर बढ्नु पर्दछ । यसप्रकार समग्रमा भन्दा नेपाली कम्युनिस्ट आन्दोलनको सामन्तवादविरोधी आधारभूत चक्र सकिएको छ । अब पुँजीवादविरोधी समाजवादी क्रान्तिको चक्र सुरु भएको छ । त्यस चक्रमा सफलतापूर्वक अगाडि बढ्न सैद्धान्तिक, राजनीतिक र संगठनात्मक सबै विषयमा सिंहावलोकनसहित अगाडि बढ्ने संकल्प गर्दा नेपाली कम्युनिस्ट आन्दोलन फेरि नयाँ तागतका साथ अगाडि बढ्न सम्भव छ र बढाउनै पर्दछ ।

पार्टी यो हालतमा पुग्नुमा शीर्ष नेताहरुको के–कस्तो भूमिका रहेको ठान्नुहुन्छ ?

माओवादी पार्टी प्रचण्ड–बाबुराम ‘ब्राण्ड’ मा बनेको पार्टी हो । ‘ब्राण्ड’ भनेको ‘व्यापारिक’ शब्द हो, मैले बुझाउन मात्र यो शब्दको प्रयोग गरेको हुँ । यो पार्टीको आधारभूत नेतृत्व को हो त भनेर हे¥यो भने दुनियाँले बुझ्ने कुरा के हो भने यो पार्टी प्रचण्ड–बाबुरामको पार्टी हो । यी दुइ जना मुख्य नेतृत्व हुन् । त्यसकारण माओवादी आन्दोलन अहिलेको हालतमा पुग्नुको मुख्य कारण प्रचण्ड–बाबुराममा देखापरेको समस्या नै हो । यो अद्र्धशताब्दीको सबैभन्दा ठूलो सामन्तवादविरोधी प्रहार भनेको जनयुद्ध हो । त्यो अवधिसम्ममा सबैभन्दा बढी सिर्जनशील भएर, सबैभन्दा बढी काम गरेको र सफल भएको नेता पनि उहाँहरु नै हो । उहाँहरुले गरेको योगदान इतिहासमा सुरक्षित हुनेवाला छ । यसको मतलब के पनि होइन भने उहाँहरुले जे चिज गर्न सक्नुभएन, त्यसबारे पनि मौन बस्नु पर्दछ । त्यसैले पार्टी यो अवस्थामा पुग्नुमा उहाँहरु दुई जनामा भएको गडबडीले नै मुख्य रुपमा काम गरेको छ । त्यसपछिका नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सबैको पनि यो अवधिमा भएको भूमिकाबारे आवश्यक मूल्याङ्कन हुनै पर्दछ र हुने नै छ ।

अहिलेको स्थितिमा प्रचण्ड–बाबुराम मिल्दैमा पार्टीका सबै समस्या हल होलान् त ?

अहिलेसम्म पनि उहाँहरुको आधारभूत लाइन एउटै छ । उहाँहरुले राजनीतिक रुपमा पार्टीभित्र वा बाहिर प्रभावशाली हुनका लागि आ–आफ्नो फरकपन भएजस्तो देखाउनु अर्कै कुरा हो । आधारभूत रुपमा उहाँहरुको कुन कुरामा फरक छ ? जस्तो– शान्ति प्रक्रियामा आउने कुरामा फरक छ ? छैन । संविधानसभामा जाने विषयमा फरक छ ? छैन । दोस्रो संविधानसभा निर्वाचनमा जाँदा प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्को प्रमुख बनाउने विषयमा फरक मत छ ? छैन । लोकमानलाई अख्तियारमा लाने कुरामा फरक मत छ ? छैन । ल्हारक्याल लामालाई सभासद बनाउन वा माथिल्लो कर्णालीको सम्झौतामा फरकपन छ ? छैन । आम रुपमा सांस्कृतिक जीवन उस्तै छ । अब फरक कहाँ छ त भन्दा अहिले गर्नु नपर्ने कुरामा फरक छ । जहाँसम्म उहाँहरुले आ–आफ्ना गुटहरुलाई चलाउने कुरा छ, त्यो त पुँजीवादी पार्टीमा पनि स्थायी प्रकारका गुट त चलिहाल्छन् नि । पुँजीवादी पार्टीमा समेत स्थायी प्रकारका गुट त तलसम्म हुन्छन् । स्थायी प्रकारको गुट कसैले बनायो भन्दैमा त्यो विचार–राजनीतिमा फरक हुने कुरा हो र ? पार्टीभित्र आ–आफ्नो राजनीतिक अस्तित्वलाई सुरक्षित गर्न वा समग्र राजनीतिमा एउटा हैसियत निर्माण गर्नका निम्ति पनि गैरसर्वहारावर्गीय स्थायी प्रकारका गुटहरु कम्युनिस्ट आन्दोलनमा पनि बनेका छन्, बुर्जुवा पार्टीहरुमा त झन् स्वतः बनेका छन् नै । त्यसको आधारमा उहाँहरु फरक त हुनुभएन नि !

उसोभए तपाईं प्रचण्ड–बाबुरामका बराबर कमजोरी देख्नुहुन्छ ?

बैठकहरुमा अध्यक्ष स्वयंले भनिसकेको कुरा हो कि अध्यक्षको नाताले पार्टी बिग्रनुको दोष मैले बढी लिनुपर्छ भनेर । तर, पनि म चाहिँ पार्टी बिग्रनुको प्रधान पक्ष व्यक्ति देख्दिनँ । नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन, संसारभरिकै कम्युनिस्ट आन्दोलनमा ‘हिरोइज्म’ दबदबाको विषय बन्यो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौं । स्टालिन नहुनेबित्तिकै, लेनिन नहुनेबित्तिकै के भयो ? ८५ प्रतिशत भूभाग कब्जा भएको भनिएको गोन्जालोको पार्टी के भयो ? माओ मर्नेबित्तिकै त्यहाँको हालत के भयो भन्ने हामीले देखिसकेका छौं । त्यसकारण सिंगो कम्युनिस्ट आन्दोलनमा नै हामीले जुन ढंगको नायकवादमा आधारित भएर नेतृत्व निर्माणको जो प्रक्रिया लग्यौं– त्यहाँ समस्या छ । त्यसबारेमा छलफल गर्नुपर्ने छ । अहिले जरुरत के छ भने सिङ्गो माओवादी आन्दोलनभित्र आधारभूत सैद्धान्तिक माक्र्सवादी प्रस्तावनाको बारेमा छलफल गर्ने कि नगर्ने ? हरेक मानिसहरुको बारेमा आलोचनात्मक वर्गदृष्टिकोण राख्न खोज्ने कि नखोज्ने ? आलोचनात्मक दृष्टिकोण राख्न खोजिएन भने चाहिँ यो आन्दोलन नयाँ ढंगले अगाडि बढ्न असम्भव छ । व्यक्तिहरु जो पनि हुन सक्छन् । व्यक्ति प्रचण्ड पनि हुन सक्छन्, बाबुराम पनि हुन सक्छन्, नारायणकाजी पनि हुन सक्छन् र अर्कै व्यक्ति पनि आउन सक्छ, यो ठूलो कुरा होइन । यहाँ हल्ला भएजस्तै बाबुरामजीले अर्को पार्टी बनाउनुहोला रे । तपाईंको नेतृत्वप्रणाली जो छ र सोच्ने तरिका जे छ, त्यही तरिका लागू गर्ने हो भने हुन्छ के त ? यही स्थितिमा जतिसुकै फुटाए पनि केही हुँदैन । विरासतको ¥याल–सिंगान सफा गर्नेतिर नलागी जति जुटाए पनि केही हुँदैन ।

त्यसो भए अब गर्नेचाहिँ के त ?

६५ वर्ष लामो सामन्तवादविरोधी संघर्ष जो चल्यो, नेपाली जनताको विशेष गरी कम्युनिस्टहरुको नेतृत्वमा; त्यसका उपलब्धिहरुलाई अधिकतम रुपमा संस्थागत गर्ने काम हो संविधान बनाउने कुरा । त्यसमा माओवादी मान्दोलनको मूल पङ्क्ति लागिरहेको छ, त्यो ठीक छ । त्यो सकिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा एउटा ठूलो बहस सिर्जना हुन्छ, हुनुपर्दछ । नेपालमा कम्युनिस्ट नै रहेर अगाडि बढ्न चाहने मानिसहरुले सबैभन्दा पहिले २००६ सालदेखि यहाँसम्मको सिंहावलोकन गर्न आफूलाई तयार पार्नुपर्दछ । त्यसो गर्न सकियो भने फेरि हामी त्यो बहसबाट अगाडि बढ्न सक्दछौं । जो मानिस आजको आवश्यकताअनुसार आन्दोलन सिर्जना गर्न चाहन्छन्, उनीहरु कम्युनिस्ट आन्दोलन निर्माण गर्दै अगाडि जान समर्थ हुन्छन्; जो मान्छे कम्युनिस्ट आन्दोलन चाहँदैन, अब यसबाट पार लाग्दैन भन्ने ठान्छ– ऊ आफ्नो बाटो लाग्दछ ।

माओवादी आन्दोलन नै अहिले सबैभन्दा धेरै क्रान्तिकारीहरु संगठित रहेको आन्दोलन हो । ६५ वर्षमा कम्युनिस्ट आदर्शका बारेमा, योगदानका बारेमा पनि सामन्तवादविरुद्ध सबैभन्दा बढी योगदान गरेको पनि माओवादी आन्दोलनले नै हो । यसलाई फेरि पुनर्जीवित पार्न सकिएन भने हाम्रो समाजको आस्था, संस्कृति र कम्युनिस्ट मूल्य–मान्यतामा सबैभन्दा ठूलो घाउ पनि यसैले बनाउनेवाला छ । त्यसकारण सिर्जनात्मक ढंगले हर चिजका बारेमा प्रश्न गर्ने र आलोचनात्मक बन्ने ढंगले कम्युनिस्ट क्रान्तिकारीहरुले जति मेहनत गर्लान्, त्यसैको आधारमा भोलिको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ भन्ने कुराको मापन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top