भर्खरै
Home / अन्तर्वार्ता / अहिले पनि माओवादी आन्दोलनको मुलधार एमाओवादी नै हो: मणी थापा, महासचिव क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल

अहिले पनि माओवादी आन्दोलनको मुलधार एमाओवादी नै हो: मणी थापा, महासचिव क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल

रुपान्तरण नगरी माओवादी आन्दोलन संगठित हुन सक्दैन । एक अर्काप्रति बिना पूर्वाग्रह प्रचण्ड बाबुराम बहसमा आउन सक्नुहुन्छ भने अहिले पनि माओवादी आन्दोलनको मुलधार एमाओवादी नै हो । सबैभन्दा पहिले उसले आफ्ना गुटको ब्यबस्थापन गर्न सक्नुपर्यो । उनीहरु आफु सुधारिएर एकताको पहल गर्यो भने एउटा नयाँ प्रक्रिया शुरु हुन सक्दछ । माओवादी आन्दोलन हो । यो पार्टी नबन्दै चिराचिरा भएर फुट्यो । गल्ती त हुन्छ तर गल्तीलाई रियलाईजेशन गर्नुपर्यो । रुपान्तरण हुनुपर्यो ।

नेपालको कम्युनिष्ट आन्दोलनको एक हस्ति मणी थापाको हाल ब्यस्तता के मा हो ?

आन्दोलनमै ब्यस्त छु । हामी ३३ दलसँग सहकार्यमा छौं । त्यो ३३ दलको सहकार्यको वरीपरीको एउटा ब्यस्तता छ । अर्को माओवादी आन्दोलनको एउटा गहन अध्ययन र बिश्लेषणमा मेरो ब्यस्तता छ । तेश्रो मेरो आफ्नो साहित्यीक, सांगीतिक श्रृजनामा ब्यस्तता छ । चौथो माओवादी आन्दोलनको धुर्बीकरण सहितको रुपान्तरण गर्नुपर्छ भन्नमा लागीरहेको छु । यी चार इस्युमा मेरो दिनचर्या बितिरहेको छ ।

साहित्यिक र साँस्कृतिक क्षेत्रमा पछिल्लो समय के गर्दै हुनुहुन्छ ? तपाइको पछिल्लो सृजना के छ ?

बिशेष गरेर त म संगीतकारको रुपमा एउटा सिनेमामा व्यस्त छु अहिले । नालापानी भन्ने एउटा चलचित्र बन्दै छ । त्यो चलचित्रको गीत संगीतको काम गरिरहेको छु । दोस्रो म अहिले कविता लेखनमा पनि छु । तेस्रो १० बर्षमा मैले अनुभव गरेको चिजलाई लेखिनु पर्दछ भनेर त्यसको गृहकार्यमा पनि म छु ।

०६३ पछाडि तपाईले संगीत भरेका केहि चलचित्रहरु आए । ती बारे केहि बताईदिनुस् न ?

दशगजामा मेरो गीतसंगीत छ । भिमदत्तमा मेरो कथा र गीतसंगीत छ । बिषेश गरेर प्रगतिशिल धारका गीतसंगीतहरु वा राष्ट्रियता र सामाजिक मुद्दाहरुमा अलग सिनेमाको धार नेपालमा बिकास गरिनुपर्दछ भन्ने एउटा भिजन सहित म र मेरा साथीहरु लगातार लागिपरेका छौं । त्यो निरन्तरताको पछिल्लो कडी नालापनी हो । त्यो सँगसँगै अरु बिषयमा पनि हामीले रिसर्च गरिरहेका छौं । त्यसकारण चलचित्र क्षेत्रले पछिल्लो समय केहि मोड लिन खोजेको छ यसको पनि केहि प्रभाव छ भन्ने हाम्रो बिश्लेषण छ ।

गंगा कावेरी एक्सप्रेस कविता संग्रह पछाडि मणि थापाको अर्को कविता संग्रह वजारमा आएको छैन किन नि ?

कविता संग्रहकै रुपमा त आएको छैन । गंगा कावेरीे एक्सप्रेस पनि लामो कविता मात्र हो लघु खण्डकाब्य जस्तो । अर्को एउटा कविता संग्रहको तयारीमा छु । जुन कविता संग्रह मैले जनयुद्धमै र जनयुद्ध पछाडि शान्तिकालमा आईसकेपछि लेखेका दुईवटै खण्डमा मिलाएर छिट्टै मेरो कविता संग्रह बजारमा आउनेछ ।

३३ दलको मोर्चा अहिले कहाँ छ ?

बिशष गरेर ३३ दलको मोर्चाले संविधान निर्माणको क्रममा दोस्रो संविधान सभा बहिष्कार गरेका हौ । दोस्रो संविधान सभाको जग जसरी बसाईयो र पहिलो संविधानसभा जसरी बिघटन गरियो त्यसले नेपालको परिवर्तनको एजेण्डालाई समात्न सक्दैन भन्ने हाम्रो ठहर थियो । यसले नेपालमा अझै बढी द्धन्द र अराजकता निम्त्याउन सक्दछ किनकी स्वयं पहिलो संविधानसभाले राष्ट्रिय सहमति कायम गर्न सकेन । अहिलेको संविधानसभाले पनि राष्ट्रिय सहमति कायम गर्न सकेन । दोस्रो संविधानसभाको निर्वाचन जुन प्रक्रिया र पद्दतिअनुसार गरियो, त्यसले नेपालको राष्ट्रिय राजनीतिमा सहज बाटोको खोजी भन्दा पनि अराजकता र द्धन्द्धतिरको बाटोतिर लैजान्छ भन्ने हाम्रो बिश्लेषण सहि सावित भएको छ । अहिले हामी बास्तवमा बैचारिक प्रतिपक्षीको रुपमा छौं । भनेजस्तो सशक्त भूमिका त हामीले खेल्न सकेका छैनौं तर राजनीतिक रुपले हामीले ईमान्दार प्रतिपक्षीको संदेश दिईरहेका छौं ।

संविधान सभाभित्र भएको माओवादी सहित तपाईहरु पनि त्यो मोर्चामा हुनुहुन्छ । पछिल्लो समय केहि बहस र छलफल देखिदैन नि ?

एक बर्ष अगाडिदेखि हामी संविधानसभा भित्र भएका माओवादी र बाहिर भएका माओवादीका बिचमा बिशष गरेर माओवादी आन्दोलनको समिक्षा गर्ने र माओवादी आन्दोलनलाई रुपान्तरण गर्ने भन्ने प्रश्नमा हामीले कार्यगत एकताको तहसम्म हामी पुगेका थियौं । तर बस्तुत एउटा पक्ष संविधानसभा भित्र र अर्को पक्ष संविधानसभा भन्दा बाहिर रहेका कारण पनि हामी बिचको बहस छलफल र एकताको प्रक्रियालाई तार्किक निष्कर्षतिर पुर्याउन सकेनौं । तर माओवादी बृत्त भित्र समग्रमा के कुरामा रियलाईजेशन भएको छ भने अव माओवादी आन्दोलन एकठाँउमा नआउने र यसले रुपान्तरण सहित अगाडि बढ्ने एजेण्डा नबनाउने हो भने माओवादी आन्दोलन अवशान तिर जान्छ र बिघटन नै यसको मुख्य कडी हुन्छ । बिघटनबाट गठनको कडीतिर माओवादी आन्दोलनले अझै ठाँउ लिईरहेको छैन भन्ने हाम्रो बिश्लेषण छ । त्यसका निम्ती बिशेष गरेर संविधानसभाभित्र जुन माओवादी समूह छ त्यसले आफ्ना अडानहरुलाई जसरी राख्नुपर्ने थियो ती अडानहरुलाई राख्न सकेन र संझौताबादी ट्रेन नै बढी भएको हुनाले संविधानसभा भन्दा बाहिर भएको माओवादी घटकलाई संविधानसभा भित्र भएका माओवादी घटकको संझौतापरस्त चिन्तन प्रति बढी आशंका छ ।

संविधानसभामा माओवादी घटकको भोट घट्नुको कारण तपाईहरुले बहिष्कार गरेर पनि हो नि होईन र ?

राजनीतिमा एकले अर्कोलाई रिभेञ्ज दिने कुरा पनि हुन्छ । त्यसलाई नकार्न सकिदैन । तर संविधानसभा भन्दा बाहिर रहेका माओवादीहरुले संघर्षको रुपमा अथवा समाजलाई अगाडि बढाउने, बर्ग संघर्ष अगाडि बढाउने लेवलमा उनीहरुले काम गरेनन वा गर्न सकेन तर पनि बिचार र नैतिकताको हिसावमा उनीहरुले आफ्नो रक्षा गरेका छन् । यति भनिरहदा पनि संविधानसभा भित्रै रहेको माओवादी यो आन्दोलनको मुख्यधार भएकोले उसले बिचार, राजनीति र नैतिकतालाई संविधानसभा भित्रको परिधि भित्र एमाले र काँग्रेस भन्दा अलिकति पृथक देखाउन नसक्ने देखियो । त्यसले पनि हाम्रो बिचमा अन्तरबिरोध बढ्यो । र बाहिरकाले सडकमा पनि गुणात्मक र प्रभावकारी काम गर्न नसक्ने, संविधानसभामा पनि आशातित दवाव र आशातित काम गर्न नसक्ने । मान्छेले हेर्दा दुबैतिर असफलता हात लाग्ने कारणले पनि आम जनता निराश छन् । यसमा मुख्य रुपले जनयुद्धको मुख्य नेतृत्वहरु नै संविधानसभा भित्र भएको हुनाले त्यहा राम्रो भूमिका खेल्दै र अडान राखेको भए समग्रमा राम्रो हुनेथियो ।

संविधानसभाभित्र जनयुद्धका नेतृत्वको कुरा गर्ने हो भने त प्रचण्ड र बाबुराम मात्र त हुनुहुन्छ । अरु किरण लगायत तपाईहरु त बाहिर नै हुनुहुन्छ । बाहिरबाट अझ धक्का दिन सक्नुपर्ने होईन ?

जनयुद्धका मुख्य नेताकै रुपमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित भनेर प्रचण्ड र बाबुराम जीकै नाम आउदछ । किरणको आउदैन ।

वहाँहरुका खास खास कमजोरी के के भए त ?

वहाँहरुको कमजोरीको लेखाजोखा त अझै भईसकेको छैन । वहाँहरु माओवादी आन्दोलनको नेता मात्रै होईन यो देशको प्रधानमन्त्री पनि भैसकेको मान्छे हो । तर वहाँहरुले बैचारीक या राजनैतिक गल्ती नगरेको भए , त्यो युद्ध कालमा होस् वा शान्ति कालमा, माओवादी आन्दोलनको यो दशा हुने थिएन । यति गहिरेर माओवादी कहाँ छ भन्नु पर्ने थिएन होला भन्ने लाग्छ ।

युद्धकालिन र शान्तिकालिन कमजोरीहरु के के भए बताईदिनुस् न ?

युद्धकालिन कुरा गर्दा त चुनवाङ बैठक र भारतसँगको १२ बुदे सहमति नै युद्धकालिन कमजोरी हो ।

१२ बुदे भारतसँग हो की भारतीय भूमिमा नेपालको सत्तासँग हो ?

त्यो त सामान्य मानिसलाई पनि थाहा छ की भारत मात्र होईन बैदेशिक शक्ति केन्द्रका आधारमा नेपालमा जो जनबाद ल्याउने कोशिस गरियो त्यो सपना नै बेठीक थियो । त्यो शक्तिकेन्द्रको आधारमा जनबाद आउदैनथियो । अरु कुनै बादचाहि आउन सक्थ्यो । पछिल्लो समय सात, सात दिन नेपाल बन्द गरेर जनतालाई काठमाडौं ल्याईयो त्यो पनि बेठिक थियो । संविधानसभामा जनताले ठूलो बहुमत दिए । त्यो बहुमतलाई हामीले राम्रोसँग प्रयोग गर्न सकेनौं । त्यो अर्को कमजोरी हो । हाम्रा दुई जना प्रधानमन्त्री भए । उनीहरुले आशातित काम गर्न सकेनन् । यी सबै अवशरलाई माओवादी नेतृत्वले माक्र्सबादी ढंगबाट र नेपाली जनताको तर्फबाट भन्दा पनि आफुलाई केन्द्रमा राखेर हेर्ने र पार्टीभित्र पनि गुटलाई केन्द्रमा राखेर हेर्ने जुन काम गर्यो त्यो नै ठूलो सैद्दान्तिक बिचलन हो ।

संयुक्त आन्दोलनको लागि तपाईले एकखालको सहकार्य शुरु गर्नुभएको थियो, त्यतिबेला हामी एकै ठाँउमा आउँ भन्ने प्रस्ताव राख्नुभएन ?

माओवादी आन्दोलन भित्र राईट तत्व पनि छ, लेफ्ट तप्का पनि छ र सेन्टर तप्का पनि छ । अल्लि बलियो राईट तप्का छ । यी तीनवटै तप्काले आफुलाई अगाडि बढाउनका निम्ती माओवादी आन्दोलनमा बहसको आवश्यकता छ भन्ने हाम्रो बुझाई हो । एउटै टेबुलमा बसेर माओवादी आन्दोलनले कहाँ गल्ती गर्यो भन्ने कुरा अब खोतल्नु पर्दछ । दश बर्ष हामीले प्रचण्ड बाबुरामसँग बसेर काम गर्यौ भने दश बर्ष त एक्लाएक्लै पनि त काम गर्यौ । यी भिन्न आयामहरु माओवादी आन्दोलनमा पैदा भए । यी आयामहरुका बारेमा एकै ठाँउमा बसेर छलफल गर्यौ भने राईट जानेहरुलाई पनि बाटो खुल्छ । लेफ्ट जानेहरुलाई पनि बाटो खुल्छ । तर अहिले सम्म कहाँ मिस भयो भन्ने कुरा एउटाले एउटा ढंगले ब्याख्या गर्छ भने अर्कोले अर्को ढंगले ब्याख्या गर्दछ । समग्र बिश्लेषण भएको छैन । त्यो समग्र बिष्लेषण हिजोको आधारमा होईन दश बर्षको शान्ति प्रकृयाका आधारमा अहिलेको संविधान निर्माणको प्रकृयासम्मको हाम्रो के के भूमिका भयो भन्ने आधारमा बिश्लेषण गर्ने हो भने हामी संभवत एक ठाँउमा आएर बामपन्थि पनि हुन सक्छौं । अन्तत माओवादीको लेफ्टधार शशक्त हुन सकेन भने यो आन्दोलन कोल्याप्स हुन सक्छ ।

हिजोका माओवादी नेताहरु त असफल भैसके । प्रधानमन्त्री भएर पनि राम्रो काम गर्न सकेनन् । पार्टीको पदमा रहेर पनि भूमिका निभाउन सकेनन् । तर पनि कोही पनि आफु असफल भएको कुरा स्वीकार गर्न सक्दैनन् ।

मणि थापाले शुरु गरेको अभियान पनि त्यस्तै हो त ?

मणि थापाले गरेको काम एकदम गुणात्मक छ भन्ने त होईन । मणि थापा अहिले पनि ब्यबहारमा रिभोलुसनरी छ । माक्र्सबादमा रिभोलुसनरी छ । मणि थापाले कसैलाई शोषण गरेको छैन । कुनै साम्राज्यवादको एजेण्ट मणि थापा होईन । त्यतिमा मणि थापा अरुभन्दा फरक छ ।

ठूलो जिम्मेवारी लिएको भए मणि थापा पनि त्यस्तै हुन्थ्योकी भन्ने पनि छ नि ?

त्यो आशंका छ मान्छेहरुलाई । माओवादी आन्दोलनमा एउटा थेउरी छ अहिले , काक्राको चिराको सिद्धान्त । त्यो चिरा कहाँ बसेर खाने भन्ने हो । त्यो काक्राको चिरा महमा चोपेर खाने पनि छन्, फाईप स्टारमा बसेर खाने पनि छन् । बेलायतमा गएर पनि काक्राको चिरा खाएका छन्, भारतमा बसेर पनि काक्राको चिरा खाएका छन् । रोल्पाको कुनै गाउमा पनि नुन खुर्सानीसँग काक्राको चिरा खाएका छन् । यसमा पृथक गरिनुपर्दछ भन्ने हो । प्रचण्ड, बाबुराम र किरण त शक्तिले यो समाजमा हिड्ने भएका छन् । हामी त बिना शक्ति पनि यो समाजमा हिडिरहेका छौं । हामी काक्राको चिरा त हौं तर हामी महमा चोपेर खाने, डलरमा बेरेर खाने काक्राको चिरा होईनौं । हामी ठ्याकै रोल्पाको गाउँमा जिरे खुर्सानी र नुनसँग खाईने काक्राको चिरा हौं । प्रचण्ड, बाबुराम, किरण, बिव्लव, मणि एउटै होईन । यी भिन्न धातुहरु हो । यीनमा केहि समानता होला । तर यीनले भिन्न मुल्य नेपाली समाजमा दिएका छन् ।

त्यसो भए माओवादी आन्दोलनप्रति कसरी आशा पैदा गर्न सकिन्छ त ?

रुपान्तरण नगरी माओवादी आन्दोलन संगठित हुन सक्दैन । एक अर्काप्रति बिना पूर्वाग्रह प्रचण्ड बाबुराम बहसमा आउन सक्नुहुन्छ भने अहिले पनि माओवादी आन्दोलनको मुलधार एमाओवादी नै हो । सबैभन्दा पहिले उसले आफ्ना गुटको ब्यबस्थापन गर्न सक्नुपर्यो । उनीहरु आफु सुधारिएर एकताको पहल गर्यो भने एउटा नयाँ प्रक्रिया शुरु हुन सक्दछ । माओवादी आन्दोलन हो । यो पार्टी नबन्दै चिराचिरा भएर फुट्यो । गल्ती त हुन्छ तर गल्तीलाई रियलाईजेशन गर्नुपर्यो । रुपान्तरण हुनुपर्यो ।

संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा छ संविधान कस्तो बन्ला ?

संविधान त बन्छ तर आधारभूत रुपमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनको जगमा यो संविधानसभा बनेको हो । यसको आधारभूत सिद्धान्तलाई प्रतिनिधित्व गर्न सक्ने भएन । त्यसले गर्दा भावी दिनहरुमा यो संविधान लागु हुँदैन भन्ने हाम्रो बुझाई छ । नेपालका सबै जाति, धर्म र बर्गले स्वीकार गर्ने संबिधान यो संविधानसभाबाट बन्दैन । त्यसकारणले गर्दा नेपालको राजनीतिको स्थायीत्व र राजनीतिक क्रान्ति सिद्धिएर आर्थिक क्रान्तिको बाटोमा जाने भन्ने बिश्लेषणहरु थिए , ती बिश्लेषणहरु कमजोर सावित हुन सक्छन् । राजनीतिक आन्दोलनका केहि पक्षहरु बांकी रहन्छन् । देश स्थायीत्वतिर नजाने संभावना बढी भयो भन्ने हाम्रो बिश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top