भर्खरै
Home / बिचार / हामी मित्र हुन चाहन्छौ, गुलाम होइन: प्रचण्ड

हामी मित्र हुन चाहन्छौ, गुलाम होइन: प्रचण्ड

हिजो हामीले संविधानसभाबाट नेपालको संविधान घोषणा गर्यौं । एउटा युगको हामीले समापन गर्यौं, र एउटा नयाँ युगको सुत्रपात गर्यौं । त्यस्तो युगको हामीले समापन गर्यौ, जुन नेपाली जनताका नाममा नेपाली जनतालाई केही राजा महाराजाले संविधान दिने युगको अन्त्य गर्यौं । नेपाली जनताको नाममा केही विशिष्ट व्यक्तिहरुका आयोगहरुबाट संविधान दिने परम्पराको पनि हामीले अन्त्य गर्यौ ।

नेपालमा एउटा युगीन परिवर्तनलाई संस्थागत गर्ने, नेपाली जनताले आफ्नो निम्ति आफैंले चुनेका प्रतिनिधि मार्फत, संविधानसभा मार्फत संविधान दिने एउटा ऐतिहासिक युगको प्रारम्भ गर्यौ, जनताको युग प्रारम्भ गर्यौं । त्यसकारण म यो दिनमा सम्पूर्ण देशभित्र र देश बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरुलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । यहाँसम्म हामीहरु सजिलै आएका होइनौं । संविधानसभाबाट संविधान दिने आधुनिक युगको सबैभन्दा वैज्ञानिक, सबैभन्दा जनपक्षीय, जनवादी प्रक्रियामा यहाँसम्म आउन हजारौं नेपालीहरुले प्रण उत्सर्ग गर्नुपर्यो । थुप्रै शसस्त्र र शान्तिपूर्ण संघर्षहरुबाट हामी गुज्रनुपर्यो । झण्डै ७० वर्ष लामो संघर्षपछि मात्र आज हामी संविधानसभाबाट संविधान निर्माण गर्ने ठाँउमा आइपुग्यौं । मैले अहिले यसो भन्दै गर्दा मेरो दिमागमा के आउँदछ भने हामी तत्कालिन सात राजनीतिक दल र विद्रोहमा रहेको तत्कालिन नेकपा माओवादीबीच १२ बँुदे समझदारी भएर संविधानसभावाट संविधान दिने प्रक्रियाको एउटा राजनीतिक समझदारी भएको दिन र त्यस दिनपछि नेपालमा एउटा असाधारण राजनीतिक परिघटना देखाप¥यो ।

जो दुनियाँमा कमै देखापर्दछ । सशस्त्र संघर्ष र शान्तिपूर्ण संघर्ष, भूमिगत पार्टी र शान्तिपूर्ण राजनीतिमा रहेका पार्टीहरुबीच समायोजन बडो राम्रो समायोजन इतिहासमा कमै देखापर्दछ । त्यस्ता तालमेल कमै देखापर्दछन् । जसको परिणाम देशले एउटा नयाँ असाधारण परिणाम दियो र विस्तृत शान्ति सम्झौतामा यो देश पुग्यो । त्यो शान्ति सम्झौता गर्दाको दिनलाई म फेरी एकपटक स्मरण गराउन चाहन्छु । जहाँ पूर्व प्रधानमन्त्री तथा दिवंगत गिरिजाप्रसाद कोइराला र मैले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्यौं ।

तत्कालिन नेकपा एमालेका महासचिव माधव कुमार नेपाललगायत सबै नेताहरु हामी त्यहाँ उपस्थित थियौं । मैले त्यो दिनलाई पनि स्मरण गरेको छु । यहाँसम्म आउनको लागि नेपाली जनताले जसरी संघर्ष र बलिदानका श्रृङ्खलाहरु पार गर्यौं । म आज यो ऐतिहासिक घडीमा संविधानसभाबाट संविधान घोषणा गर्ने युगको नयाँ प्रतिनिधित्व गर्ने घडीमा तमाम् शहीद, तमाम् बेपत्ता योद्दाहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु । किनकी उहाँहरुको बलिदान विना उहाँहरुको संघर्ष बिना यो दिन ल्याउन संभव थिएन ।

यो संविधानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पक्कै पनि यो कार्यन्वयनको चुनौति छ । किनकी केही मानिसहरुलाई संविधानसभावाट संविधान ल्याउने विधि प्रक्रिया पनि राम्रो लागेको थिएन । संघीय लोकतान्त्रिक संविधान र गणतन्त्र पनि राम्रो लागेको थिएन । कही न कही उनीहरुबाट कुनै न कुनै रुपमा विभिन्न प्रकारका चुनौतीहरु आउन सक्दछन् । हामीले अहिले संविधानसभाबाट संविधान घोषणा गर्नका निम्ति जुन राष्ट्रिय एकताको प्रमूख राजनैतिक शक्तिहरुबीच एउटा दृढ संकल्प र एकताको प्रदर्शन गरेर हामीले तमाम चुनौतिहरुको सामना गरी यो घोषणासम्म देशलाई ल्याइपु¥याएका छौं । आउने दिनमा पनि त्यो एकता अझ सुद्दिृढ हुन जरुरी छ ।

यो संविधानका प्रमूख विशेषता भनेको गणतन्त्र, संघियता, समावेशी समानुपातिक प्रणाली र धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता हुन् । यो कार्यान्वयनको प्रक्रियामा जाँदा पक्कै चुनौति छन् । हामी नेपालीहरुको एकताले मात्र यसलाई कार्यन्वयन गर्न सकिन्छ । किनकी यो नेपाल राष्ट्रको, नेपाली जनताको स्वाभिमानको आत्मसम्मानको विजयको रुपमा रहेको छ । यसलाई जोगाउने जिम्मेवारी पनि हामी सबै नेपालीहरुको हो । सबै राजनीतिक शक्तिहरुको हो ।

केही राजनीतिक दलहरु र केही जनताका समुदायहरुमा अझै पनि यो संविधानप्रति यसको स्वामित्व ग्रहणप्रति असहमति रहेका छन् । हामीलाई थाहा छ मधेसमा थारुहरुमा र कतिपय आदिवासी जनसमुदायमा पनि केही प्रश्नहरु छन् । केहि गम्भीर असन्तुष्टीहरु पनि छन् । म एकीकृत नेकपा माओवादीको तर्फबाट मैले अस्ति संविधानसभामा पनि भनेको थिए हामी माओवादीको स्थिति शान्ति प्रक्रियामा आएपछि र संविधान निर्माण प्रक्रिया त्यसको अभिन्न अंगको रुपमा अगाडि बढाउँदै गर्दा हाम्रो स्थिति अरुको भन्दा अलिकति विशिष्ट छ ।

हामीले नै यो देशमा उत्पीडित मजदुर किशानका आवाजलाई आवाज दिनको निम्ति आन्दोलन गर्यौं । हामीले नै यो देशमा उत्पीडित जाति, भाषिक समुदायहरुलाई उनीहरुको पहिचान र अधिकारका निम्ति अगाडि बढ्न अपिल गर्यौं । त्यसकारण हामी अहिले पनि मदेशमा, थारुहरुमा वा आदिबासीमा जब आफ्नो पहिचान र हकका बारेमा कुरा उढ्छ हामी माओवादी त्यही हुन्छौं । तर नेपालको संघीय गणतन्त्रको लागि हामी तीन ठूला पार्टी एक ठाउँमा छौं ।

आज म यो मञ्चबाट मधेशमा रहेका केही असन्तुष्ट दलहरु वा मधेशी समुदायलाई के भन्न चाहन्छु भने तपाईहरुको धेरै मागहरु नयाँ संविधानमा सम्बोधन भएका छन् । संघीयता सबैभन्दा बढी मधेशी जनतालाई प्राप्त भएको छ । सप्तरीदेखि पर्सासम्म पहिचानको आधारमा प्रदेश हेर्यौं भने अन्य सबै जाति र भाषिक समुदायलाई भन्दा मधेसी जनतालाई त्यो पहिचान प्रष्ट रुपमा व्यक्त भएको छ ।

तपाईहरुले उठाएको समानुपातिक समावेशीको मुद्दा सम्बोधन भएको छ । तपाईहरुले उठाउँदै आएको नागरिकताको मुद्दा यो संविधानले सदाको निम्ति समाधान गरिदिएको छ । तपाईहरुले अहिले भन्ने गरेको सिमाङ्कनको बिषय पनि वार्ता र संवादको माध्यमबाट सम्बोधन हुन सक्दछ भन्ने कुरा हामी तीनै दलले भनेका छौं । यो स्थितिमा तपाईहरुका मुद्दा यो संविधान घोणणा भएपछि पनि वार्ताको टेवलमा बसेर संवादको माध्यमबाट शान्तिपूर्ण तरिकाले समाधान गर्न सकिने मुद्दाहरु छन् ।

मैले हाम्रो पार्टीको तर्फबाट शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको एउटा प्रमूख नेतृत्व हुनुको हैसियतले तपाईहरुको पक्षमा, तपाईहरुको जायज मागको पक्षमा निरन्तर लाग्ने विश्वास दिलाउँदै तपाईहरुलाई अविलम्व वार्ताको टेवुलमा आउन म अपील गर्न चाहन्छु । त्यसैगरी थारु जनसमुदाय, आदिवासी, जनजाति, यो ऐतिहासिक प्रकृयामा जहाँनेर असन्तुष्ट छन् वार्तामा सहभागी हुन म अपिल गर्न चाहन्छु ।

अन्त्यमा यो महान् प्रक्रियालाई टुङ्गोसम्म ल्याई पु¥याउन सहयोग गर्ने छिमेकी मित्रराष्ट्रहरु, अन्तराष्ट्रिय समुदाय, संयुक्त राष्ट्र संघ लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । हाम्रो राष्ट्रप्रतिको हाम्रो प्रेम, निष्टा, हाम्रो विश्वास, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र यसको आत्मसम्मानको निम्ति हाम्रो विश्वासलाई म के विश्वास गर्दछु भने हाम्रा छिमेकी मित्रहरु भारत र चीनले पक्कै पनि सम्मान गर्नेछन् । हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्र आफ्नो स्वतन्त्रतालाई पनि सुदृढ गर्न सक्छन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।

म भारतलाई के भन्न चाहन्छु भने एक असल मित्र राष्ट्रको नाताले तपाईहरुका जाहेज चासोलाई हामी सम्बोधन गर्न तयार छौं । र हामी चाहन्छौं भारत, भारत सरकार र भारतीय जनताले पनि नेपालका जायज चासो चिन्ता र आवश्यकतालाई त्यसरी नै सहयोग गर्ने छन् । मैले भनेको छु हामी मित्र हुन चाहन्छौं । हामी फेरी कसैको पनि एस म्मान या जे भन्यो त्यही मान्ने नेपाली कहिल्यैं भएनन्, कहिल्यै हुने छैनन् । यसलाई सम्मान गर्न पनि म विशेष रुपले अनुरोध गर्न चाहन्छु । अन्त्यमा यो युगान्तकारी दिन ल्याउनका निम्ति हजारौं शहीदहरुले बलिदान दिए, वहाँहरुलाई सम्मान गर्दै देशभित्र र बाहिरका संपूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई गर्वका साथ बधाइ ज्ञापन गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top