भर्खरै
Home / भर्खरै / स्वास्थ्यकर्मीको आन्दोलनले खोप कार्यक्रम तथा स्वास्थ्यसेवा प्रभावित

स्वास्थ्यकर्मीको आन्दोलनले खोप कार्यक्रम तथा स्वास्थ्यसेवा प्रभावित

धनुषा, ६ फागनु । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् ।

आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका छन् ।

अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ । औषधि अभावको मार खेप्दै आएका सर्वसाधारणले स्वास्थ्यकर्मीको आन्दोलनले सिटामोलसम्म पाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबसेर आन्दोलनमा गएपछि गाउँमा पेट दुख्ने, ज्वरो आएका सामान्य बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य छन् । धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका कामसमेत प्रभावित भएका छन् । बालबालिकालाई लगाइने नियमित खोप, तथ्याङ्क सङ्कलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन सकेका छैनन् ।

खोप तथा पोलियो थोपाबाट वञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन् । धर्नाका कारण करिब दुई लाख बालबालिका खोप कार्यक्रमबाट वञ्चित भएका छन् । धर्नाका कारण अञ्चल अस्पताल जनकपुरसहित पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ स्वास्थ्य चौकी र जनकपुरमा रहेका सहरी क्लिनिकमा समेत बालबालिकालाई दिइने खोप कार्यक्रम प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top